असार २०,२०८२ ,नेपालगंज | २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति पुर्याएको थियो। तर २० महिना बितिसक्दा पनि त्यस भूकम्पबाट पीडित जनताको अवस्था अझै दयनीय छ। प्रभावित क्षेत्रमा भएको सम्पूर्ण क्षतिको विवरण हालसम्म पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन।
हालै गरिएको विपद् क्षति मूल्यांकन रिपोर्ट — Disaster Damage Assessment (DDA) — मा समेत गम्भीर अनियमितता देखिएको छ। नलगाड नगरपालिकाका अधिकांश वडाहरूमा रहेका माटोका घरहरू भूकम्पले पूर्ण रूपमा ध्वस्त बनाएको थियो। आंशिक रूपमा बाँकी रहेका घरहरू समेत बस्न अयोग्य छन्। तर, हाल सार्वजनिक भएको DDA रिपोर्टमा ती पूर्ण रूपमा बस्न नमिल्ने घरहरूलाई समेत सामान्य क्षति भएको भनेर वर्गीकृत गरिएको देखिन्छ।
पीडित स्थानीय बासिन्दाहरू आजसम्म पनि कठ्यांग्रिने हिउँदको चिसो र वर्षाको झरि सहँदै अस्थायी टहरामै बस्न बाध्य छन्। राहत र पुनर्निर्माणको नाममा सरकारी निकायले पीडितहरूप्रति देखाएको लापरवाही र गैरजिम्मेवारी गम्भीर चिन्ताको विषय बनेको छ।
रिपोर्टमा मूल्यांकनको असमानता प्रस्ट देखिन्छ — कतै पक्की (कङ्क्रिट) घरलाई पूर्ण क्षति देखाएर पुनर्निर्माण सहायता दिइएको छ भने, अर्कोतर्फ माटोका पूर्ण रूपमा ध्वस्त घरहरूलाई सामान्य क्षति भनेर सूचीबद्ध गरिएको छ। यसले पुनः मूल्यांकनको खाँचो स्पष्ट पार्छ।
विपद् क्षति मूल्यांकन (DDA) पुनः गरियोस्, माटोले बनेका घरहरूलाई यथोचित रूपमा पूर्ण क्षतिको वर्गमा राखियोस्, र कुनै पनि पीडित राहत र पुनर्निर्माण सहयोगबाट नछुटुन् भन्ने उद्देश्यले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइन्छ।