कर्णाली प्रदेशको सुर्खेत सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्।
नेपालगञ्ज, साउन ३ – प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का र प्रदेशसभा सदस्य खडक पोखरेलको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सुर्खेतको सिम्ता गाउँपालिका वडा नं.३ र ४ का कृषकहरू अहिले सिंचाइको अभावमा गम्भीर चिन्तामा परेका छन्।
स्थानीय कृषक गोविन्द कुमार सिंहका अनुसार, यस क्षेत्रमा खेतीयोग्य जमिन असारको अन्त्यसम्म पनि रोपाइँ सुरु हुन सकेको छैन। सिचाइका लागि आवश्यक पानीको अभावका कारण धान खेत सुक्खा छन्।
वडा नं. ४ मा रहेको बबई डाइभर्सन अन्तर्गतको लिफ्टिङ सिंचाइ आयोजना ६–७ वर्षअघि निर्माण थालिएको थियो। तर, अहिलेसम्म सञ्चालनमा आउन नसक्दा कृषकको आशा निराशामा परिणत भएको छ।
धेरै वर्ष देखि उही समस्या दोहोरिइरहेको छ,” सिंहले भने, सरकारलाई पटकपटक जानकारी दिँदा पनि अहिलेसम्म कुनै निकायबाट सहयोग आएको छैन। “नेपाल जस्तो पानीमा धनी मुलुकको ग्रामीण भेगमा यस्तो दुर्दशा हुनु दुःखद हो,” सिंहले भने, “तीनै तहका सरकारलाई पटक–पटक गुनासो गरिए पनि कुनै सुनुवाइ भएको छैन।”
सिंचाइको पहुँच नहुँदा कृषिमा आश्रित अधिकांश परिवारहरूको जीविकोपार्जन प्रभावित भएको छ। स्थानीयहरूले तत्काल सिचाइ सुविधा उपलब्ध गराउन तीनै तहका सरकारलाई माग गरेका छन्।